Mon. Mar 8th, 2021

Ujyaalo Patrika

Daily News

पहिलो चोटी महिनावारी हुदाको एक मिठो अनुभूति

1 min read

जब म पहिलो पटक महिनावारी भएँ, खुब रोएकी थिएँ। मलाई दुखाइ त थिएन तर एक प्रकारको भय थियो, म पनि अब दिदीहरु जस्तै १० दिन गोठमा बस्नुपर्छ। त्यो बेला मलाई केही खान पनि मन लागेन।

सबैले सानी भनेर माया गर्ने मलाई अब ठूली भई भन्नुहुन्छ भन्ने पिर पनि मनमा थियो। महिनावारीको समयमा मेरी आमा र दिदीहरुलाई पर राखेर खान दिएको तथा केही छुन नदिएको देखेकी थिएँ। मेरो रोदनका पछाडि सायद यो नै मुख्य कारण थियो।

महिनावारीको समयमा मेरो स्कुलको अन्तिम परीक्षा चलिरहेको थियो। दाजु, बुबा घरको धुरी हेर्नुहुन्न भन्दै आमाले सम्झाउनुभयो तर मलाई त्यही गर्ने रहर जाग्यो। परीक्षाको समयमा स्कुल नजाऊ कसैले भन्नुभएन, म स्कुल गएँ।

बुबा त्यही स्कुलमा शिक्षक हुनुहुन्थ्यो भने दाजु पनि त्यहीं पढ्ने। म लुकीलुकी बुबा र दाजुलाई हेर्थें। सबैले हेर्नुहुन्न मात्र भने तर हेरेर के हुन्छ कसैले भनेनन्। कुनैकुनै बेला त अनिष्ट नै हुने होकी भन्ने डर पनि लाग्थ्यो तर जब केही भएन, अनि मेरो आत्मविश्वास बढ्दै गयो।

हरेक वर्ष ऋषिपञ्चमीको दिन ब्राह्मणले महिनावारी पाप हो र यो नबार्दा एक महिला कस्तो अवस्थामा पुगेकी थिइन् भन्ने कथा बाचन गरेर सुनाएको सम्झेर डर पैदा भएको थियो। जब एक महिनासम्म केही भएन तब मेरो मनको डर हट्दै गयो। अनि लाग्न थाल्यो, यो त समाजमा फैलिएको वा फैलाइएको भ्रम रहेछ। त्यो बेलादेखि मैले महिनावारीलाई कहिल्यै पापको रुपमा लिइनँ।
हो मेरो योनीबाट हरेक महिनाको चार दिन रगत बग्छ। समाजले मलाई अशुद्ध वा अछुतको व्यवहार गरे पनि यसलाई मैले गर्वको रुपमा लिने गरेकी छु। मलाई राम्रोसँग थाहा छ, योनीबाट रगत बगेकै कारण म मेरो पतिको वंश जगेर्ना गर्न सक्छु।

मेरी छिमेकी एक बहिनीको भर्खरै महिनावारी सुरु भयो। उनलाई १५ दिनसम्म गोठमा राखियो। उनले पछि मलाई सोधिन्– दिदी म पुरुष बन्न सक्दिनँ? अचम्ममा परेर मैले सोधें– किन? उनले रुँदै भनिन्– हिजोसम्म हरेक दिन पूजा गरेर मलाई टीका लगाइदिने मेरी हजुरआमा र माया गरेर आफ्नै हातले खुवाइदिने आमाले पनि मलाई टाढा राख्नुभयो। मलाई उहाँहरुको सामुन्ने पर्नै मन छैन। अलिकति टाउको दुख्दा समेत मेरो टाउको मालिस गरिदिने मेरो बुबाले महिनावारीको समय पेट दुखेर पीडा खप्न नसक्दा पनि वास्ता गर्नुभएन। उहाँहरुले मैले भोगेको पीडामा मल्हम लगाउनुको साटो उल्टो पीडा थपिदिनुभयो।

नेपालमा २१औं सताब्दीमा पनि महिलालाई समाजले हेर्न दृष्टिकोण दयनीय छ। महिनावारी भएन भने पनि समाजले महिलालाई बाँझ भन्दै कुरा काट्छ। जे हुँदा पनि महिलालाई सुख छैन। कस्तो बिडम्वना।

महिनावारी छुनै नहुने धार्मिक संस्कार हो भने परापूर्वकालदेखि पुज्दै आएका पार्वती, लक्ष्मी, सरस्वती लगायतका कुनै देवी पर सरेको, गोठमा बसेको कुनै धार्मिक ग्रन्थ तथा कथामा उल्लेख भएको देखिँदैन। यसको अर्थ धर्मले महिनावारी भएको स्त्रीलाई छुन नहुने वा बार्नुपर्ने भनेको छैन।

पौराणिक कथाका अनुसार नागार्जुन पर्वतको फेद रमणीय फूलबारीमा पुग्दा सतीदेवीलाई महिनावारी भएको र त्यस्तो अवस्थामा यात्रा गर्न उचित नभएकाले चार दिन विश्राम लिएको स्थान नै कालान्तरमा गुह्येश्वरी पीठको नामले पुज्न थालिएको हो। सतीदेवी रजस्वला भएको ठाउँ पवित्र र पुण्यभूमि हुने अनि रजस्वला भएकी नारी चाहिँ अपवित्र हुने? कस्तो अचम्म।

श्रृष्टि चक्रको आरम्भलाई नै पाप ठान्ने कस्तो समाज हो यो। म त महिनावारीलाई सबभन्दा ठूलो उत्सव सम्झन्छु। आमाको परिकल्पना त्यति बेला हुन्छ, जतिबेला छोरी महिनावारी हुन्छिन्। महिनावारीपछि विवाह योग्य मानिने चलन पनि हाम्रो समाजमा कायम नै छ। हामी हाम्रो प्रकृति विरूद्धका संस्कारको पक्षपोषण गर्दै किन हिँड्छौं?

अहिलेसम्म महिनावारी भएको समयमा कुनै महिलाले कुनै पुरुषलाई छोएर ‘पाप’ गरेको भन्ने प्रमाण कसैले पनि जुटाउन सकेको छैन। कोही महिनावारी भएको महिलालाई कुनै पुरुषलाई छोएको भनेर अपराधी सावित गर्न सकेको छैन। एउटा श्रृष्टि चक्रको आरम्भलाई नै पाप ठान्ने यो कस्तो समाज?

महिनावारी मेरो लागि त मिठो अनुभूति हो। त्यसले मलाई शारीरिक रुपमा सक्षम भएको प्रमाण पनि दिन्छ। यसलाई म कसरी पाप मान्न सक्छु। महिनावारी भएका महिला साँच्चिकै पापी हुन् भने उनीहरूले नै जन्माएका सन्तान के हुन्? तिनै सन्तान महापुरुष भएका छन्, विश्व हल्लाएका छन्, ठूलाठूला धर्मशास्त्रका ज्ञाता भएका छन्, यो कसरी सम्भव भयो? महिलाको जनधनत्व बढी भएको पुरुषप्रधान देशका महिला हामी आखिर कहिलेसम्म अन्यायमा पिल्छिरहनुपर्ने?

गत जेठमा अछामको तुर्माखाँद गाउँपालिकाकी १८ वर्षीया पार्वती बुढाको महिनावारीको समय छाउगोठमा सुतिरहेको बेलामा सर्पले डसेर निधन भयो। एक महिनाको अन्तरालमा सुर्खेतमा एक युवतीको छाउगोठमा सुतिरहेको अवस्थामा सामूहिक बलात्कार भयो। २०७३ असोजमा बाजुराको एक गाउँमा छाउगोठ बाढीले बगाउँदा तीन महिलाको ज्यान गएको थियो। छाउगोठमा आगलागी हुँदा जलेर आमा र दुई छोराको मृत्यु भएको खबर पनि आएकै थियो।

यस्ता कतिपय समाचार बाहिर आउँछन्, कति त भित्रै दबाइन्छन्। संसार कहाँ पुगिसक्यो, हाम्रो मुलुक भने मध्ययुगिन बर्रबरतामै रुमलिइरहेको छ।

पहिलो पटक महिनावारी हुँदा हाम्रा आमाले हामीलाई ‘छोरी बधाई छ तिमीलाई, तिमी आमा बन्नका लागि सक्षम भएकी छौ’ किन भन्न सकिरहेका छैनन्। सायद यति भन्न सक्ने सामथ्र्य कुनै पनि आमामा हुँदो हो त अहिलेसम्म महिनावारीका कारण भएका कैयौँ अप्रिय घटना हुने थिएनन् होला।

म भन्छु कुनै पनि छोरी महिनावारी हुँदा उसले कुनै पनि प्रकारको पाप वा अपराध गरेको होइन, उमाथि त केवल जिम्मेवारी थपिएको हो। यो महिलाको प्रजनन् क्षमतासँग जोडिएको हुन्छ। तसर्थ महिनावारी महिलाको शारीरिक परिपक्वताको मानक एक महत्वपूर्ण चक्र पनि हो।

महिनावारी भएकै कारण तिम्री छोरीले नातिनतिना जन्माइदिन्छिन्। तिम्री आमा महिनावारी भएकै कारण तिमी जन्मिएका हौ, अनि तिम्री श्रीमतीले तिम्रो वंश धानिदिन्छिन्। यो प्रकृतिको रीत हो त आखिर किन अपमान?

यो पाप धर्मको विषयभन्दा पनि धेरै मानसिकताको उपज हो। धार्मिक आस्थाका नाममा जरो गाडेको यो रीत महिलामाथिको अत्याचार हो।

ग्रामीण क्षेत्रदेखि लिएर राजधानी होस् या अन्य सहर, जताततै यो प्रथा कायमै छ। भलै सहरमा अलग्गै कुटी बनाएर राखिँदैन। सहरी क्षेत्रमा पनि छोरीहरू पहिलो पटक महिनावारी हुँदा २२ दिनसम्म भान्सामा पस्न दिइँदैन। पुरूष सदस्यको मुख हेर्न हुँदैन भनेर आफन्तको घरमा लगेर राखिन्छ। यो पनि छाउपडी भन्दा कम हो र?

नेपालमा महिनावारीका कारण हरेक १० जनामा १ जना छात्रा ५ दिन स्कुल आउनबाट बन्चित रहेको युनिसेफको पछिल्लो तथ्यांकले देखाएको छ।

महिनावारीको नाममा सरकार, एनजिओ, आइएनजीओले अर्बौं रकम खर्च गरेका छन्। तर परिणाम अहिलेसम्म सून्य छ। महिलाको यो दुर्गति देशविदेशका अखबारमा कहिलेसम्म समाचार बनिरहने? के हामी यस्तैबाट चिनिँदै जाने हो?

सोचमा परिवर्तन ल्याउन हामीबाट नै सुरु गर्न जरुरी छ। त्यसैले त हरेक महिनामा योनीबाट ४÷५ दिन रगत बग्नुलाई कुनै पाप वा अपराध नठानी मैले गर्व महसुस गर्न थालेकी छु। आफैंले आफूलाई बुझ्न थालेकी छु। आफैंलाई माया गर्न थालेकी छु। जुन तपाईंमा पनि जरुरी छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.