Tue. Sep 28th, 2021

Ujyaalo Patrika

Daily News

आज भोलि रोल्पाको जलजला (१८ फोटो सहित)

1 min read

जलजला रोल्पा जिल्लाको सुन्दर पहाड हो । हजारौं रोपनीमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थवाङ गाउँपालिकाले घेरेको छ ।

जलजला नेपाल सरकारले तय गरेको भ्रमण वर्ष २०२० को एक सय गन्तब्यमा सूचीकृत भएको नयाँ गन्तव्य हो । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्यसहित भिजन ट्वान्टी-ट्वान्टी अभियान नै शुरु गरेको थियो  । जसमा जलजला पनि परेको छ ।

फोटो : Anzee Kalpana Budha Magar फेसबुक वाल वाट

राष्ट्रिय प्रकृति संरक्षण कोषले पदमार्गमा जाने पर्यटकहरुलाई सहज होस् भनेर ठाउँ ठाउँमा बाटो देखाउने साइनबोर्ड राख्न थालेको छ । तल जमिन दलदल गर्ने कपासको भुवामा टेके जस्तो लाग्ने पानी नै पानीले भरिएको छ जलजला । अगाडि निलो आकाश मुनि हरिया साना थुम्का छन् । दुर्लभ सेतो गुराँस यहाँको अर्को आकर्षण हो । घोरल, थार, मृग, बँदेल, भालुजस्ता जंगलीजनावर समेत पाइन्छन् । धूपी, बाँज, सेतो गुराँस, लालीगुराँस, भोजपत्र, लेकाली सल्लालगायत वनस्पति र जडीबुटी पाइन्छन् यहाँ । यस्तै डाँफे, मुनाल, कालिज, बँदेल, बाघ, भालु लगायत पंक्षी तथा जनावर पनि यहाँ भेटिन थालेका छन् । युद्धकालदेखि नै जलजलामा वस्तुभाउ चरिचरनमा बन्देज लगाई संरक्षण गरिँदै आएको छ ।

आफ्नो पहिचान, बीरता र ऐतिहासिकता बोकेको जलजलाको दृश्य शब्द र तस्वीरले वर्णन गर्न सकिँदैन । महिनैपिच्छे जलजलाको फरक फरक दृश्यावलोकन गर्न सकिन्छ । चैत वैशाखमा लालीगुराँसले ढकमक्क देखिने जलजलालाई हिउँदमा सेतै हिउँले ढाकेको हुन्छ । भदौ असोजमा दुर्लभ रथबिरथ फूलहरुले सिंगारिन्छ जलजला ।

सयौं जातका बुकी फूलहरुमा सजिएको छ जलजला । फूलमा रमाएका चराहरुको चिरबिर आवाजले कान नै गुन्जायमान गराइदिन्छ । जलजलाको दलदल गर्ने घाँसे मैदानमा आनन्द लिएर बेग्लै अनुभव यहाँ गर्न सकिन्छ ।

जलजलाको ऐतिहासिक महत्वसँगै धार्मिक महत्व पनि उत्तिकै छ । यहाँ बैशाखे पूर्णिमा, ज्येठासी पूर्णिमा र साउने पूर्णिमा आर्थात जनै पूर्णिमामा भव्य मेला लाग्ने गर्दछ । मेलामा मात्रै नभई अरु बेलामा समेत जलजलामा बराहलाई भेँडाको बलिदिन सयौंको संख्यामा पुग्ने गर्दछन् । यहाँ बराह देवताको पूजा गरिन्छ । यहाँ पुगी पूजा गरेर चिताएको पुग्ने धार्मिक विश्वास छ । साथै आफूले आर्जन गरेको धनजनको सुरक्षाको लागि समेत त्यहाँ पुगी पूजा गर्ने चलन छ ।

जलजलामा कैलु बराहा, सतदेव बराह, बज्यु बराह, रानीबज्यु र भामाओडार गरी जम्मा ५ ठाउँमा पूजा र बली दिने गरिन्छ । भेडाभेडी र कुखुराको बली दिइने जलजलामा झाँक्रीमगर र रोकामगर थरका पूजारीबाट पूजाआजा गरिन्छ ।

भेटेर तिमीलाई सोधु सोधु लाग्यो,
लेखेर तिम्रो गीत गाउँगाउँ लाग्यो,
प्यारो जलजला…।

जलजलाको बयान गर्दै कुनै समयमा मणि थापाले लेखेका थिए यो गीत । यो गीतका शब्द जस्तै अहिले जलजलाको पाखाभरी गुराँस फूलेको छ । यो गुराँस फूल्ने याममा जलजला झनै मनमोहक बनेको छ ।


हो, जलजला निकै सुन्दर छ । त्यसैले त सबैको प्यारो छ । त्यसैले यस जलजलाको नाममा फिल्म बनेका छन् । धेरै गीत लेखिएका छन् ।

तिम्रै निम्ति बरु यो ज्यान गए गैजाला
तिमीसँगै गहिरो मायाँ बस्यो जलजला…।

कुनैबेला वर्गीय मायाबाट ओतप्रोत भएर चुनु गुरुङले गाएकी थिइन् यो गीत । साँच्चै एकपटक पुगेपछि जोसुकैको मायाँ बस्छ जलजलासँग । त्यसैले ‘जलजला’ नपुगे पनि यो शब्द नसुन्नेहरु कमै होलान् ।

जलजला प्राकृतिक सुन्दरताको खानीमात्र होइन, यो त जनयु ‘ द्धको उदगम थलो रोल्पा जिल्लाको बीरताको प्रतीक पनि हो । १० वर्षे जनयु’ द्धको अवधिभर यसको काखमा धेरै निदाए, कति ओत लागे, घाउमा मल्हमपट्टी लगाए र भोक मेटाए । साँच्चै कहिल्यै हारेन जलजला ।

मणि थापा गीतमा लेख्छन्-

कुहिरोले छोप्दा तिमी छोपिएनौ
संगीनले रोप्दा तिमी रोपिएनौ
ननिभ्ने दियो तिमी नै भइरह्यौ
नझुक्ने किल्ला तिमी नै भइरह्यौ ।

कसरी पुग्ने जलजला ?

जलजला पुग्न ४ वटा रुट प्रयोग गर्न सकिन्छ । घोराहीदेेखि रोल्पा सुलिचौरसम्मको कालोपत्रे बाटो र करीब २५ किलोमिटर कच्ची मोटर बाटो हिँडेपछि जेलबाङ पुग्न सकिन्छ । त्यहाँबाट करीब ७ घण्टाको पैदल उकालो यात्रापछि जलजला पुग्न सकिन्छ ।

घोराही, होलेरी, मिरुल हुँदै थबाङसम्मको १४० किलोमिटर कच्ची मोटर बाटो गाडीमा गएपछि तीन घन्टाको पैदल यात्रापछि पनि जलजला पुग्न सकिन्छ । सोही बाटोको मिरुल टुटु झरेर जानेे बाटो पनि प्रचलित छ । लिबाङ, ओखरेनी, जलजला रुट भने नयाँ हो, जसको आरम्भ यही वर्षबाट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.